नीलो भ्यान र एकतारेहरू

“यिनै हुन्, हाल् यिन्लाई…”

अचानक कम्ब्याट ड्रेसवालाले हामीतिर औंला सोझ्यायो । गुरुपगुरुप् ४-५ जना सरासर आए । अलिक मात्तिएजस्तो, अलिक आत्तिएजस्तो कम्ब्याटवालाले मलाई फर्सीझैं उठायो- जुरुक्क । भिनाजु अलिक गह्रौं थिए- लतारे उनलाई ।

“के भो, के भो ?”

होटलवाला साहुजी अक्क न बक्क दौडिएर हामीनजिक आए । के भइरहेको थियो, केही मेसो पाएनन् । त्यतिबेलासम्म यामानका भिनाजु र तीन-चार धार्नीको म नीलो भ्यान चढिसकेका थियौं ।

सानामा सुन्थें र डराउँथे, “पुलिसले लैजाला, चूप लाग् … !”

म त्यस्तै डरलाग्दा पुलिसको अघिल्तिर सास अड्किएर उभिएको थिएँ ।

“घर काँ हो तेरो ?” काँधमा पहेंलो तारा भिरेको पुलिसले लौरो तेर्स्यायो ।

Nilo Van__Lenin

“दाङ ।”

“अर्घाखाँची ।”

पहिलो स्वर मेरो थियो, दोस्रो भिनाजुको । बडेमानका भए पनि भिनाजु मभन्दा बढी काँपे ।

“दा~~~ङ~~~?”

एकतारे कम्ब्याटवाला यसरी बोल्यो- मानौ दाङसँग उसको पुर्ख्यौली दुश्मनी छ । कताकता हेपेजस्तो, कताकता घिनाएजस्तो । सम्झें- रोल्पा वा रुकुम भनेको भए ?!

मन थररर काँप्यो ।

“के गर्न आइस् ?”

काँधमा एउटा पहेंलो तारा टाँसेको अर्को एकतारेले न्यूनतम मर्यादा पनि राखेन । दङाली हुनुमा यस्तो हीनताबोध पहिलोपटक बोक्दै थिएँ ।

“पढ्न ।”

सुस्तरी बोलें ।

(बोलें कि बोलिनँ- त्यो पनि थाहा पाइनँ)

“दाङमा पढ्ने ठाउँ छैन ?”

हेपिरहृयो ।

मुन्टो हल्लाएँ, “छ !”

“किन आइस् त याँ ?”

“पढ्न… !”

त्यसपछि चुपचाप लाग्यो ।

धन्न नाम सोधेन । सोधेको भए ? मन फेरि थरर भयो ।

“तँचाहिँ किन आइस् ?”

भिनाजुलाई ‘तँ’ भनेर बोलाएपछि अनौठो कम्पन छुट्यो मनमा ।

भिनाजु अलि जंगी छन्- जंगिएरै बोले, “घुम्न नि, अरु के… !”

एकतारेले हात चलाएको देखिनँ । हातको असर भिनाजुको ओठबाट चुहियो- रातो रातो ।

(एकमन सोंचे- उसैको हातबाट दुइनाले तानेर बजाइदिउँ– ड्याम्म~~~ । सोचे मात्रै । बन्दुक नै मभन्दा अग्लो थियो ।)

“बढ्ता बोल्छस् ? अब हेर्दै जा के हुन्छ … !”

एकतारेले चोर औंला उज्याएपछि मेरो मन पनि मंसिर ८* जस्तै पड्कियो– ड्याम~~ ड्याम~~ !

“सवारी कस्तो हुन्छ, बुझ्या छैनस् ? हिरो बन्छस् ?”

(हिरो बन्न खोज्यो को ? म ? ए ! भिनाजुलाई भन्यो शायद)

भिनाजुको ओठबाट रगत चुहिरहेकै थियो । उनले मलाई, मैले उनलाई–– कसैले कसैलाई हेरेनौं, लाजले ।

 

एकतारेले अघिदेखि मलाई घुरिरहेथ्यो । अर्घाखाँची भनेकोले हुन सक्छ- भिनाजुलाई उति वास्ता गरेन उसले । म थिएँ- दाङको । दाङको नाम सुन्दा एकतारे, दुइतारे र डबल क्रसवालाहरुको मनमा एकैपटक १५-२० वटा तोप पड्किन्थे !

गाडी थापाथली, त्रिपुरेश्वर, टेकु ओहोरदोहोर गरिरहृयो । वाकिटकीमा भइरहने किरिमिरी कुराकानी अर्कै ग्रहको भाषाजस्तो लाग्थ्यो । अनेक शब्द जोडेर यत्ति निष्कर्ष निकालें, “दुई जनालाई पक्रेका छौं, उतै (कालिमाटी पोस्ट) गएर थाहा हुन्छ !”

त्यसपछि मेरो अनुहारमा कृष्णभीरझैं पहिरो गयो ।

(अहिले त कृष्णभीरमा पहिरो जानै छाड्यो ! अँ- राजा पनि त छैनन् !)

“सवारीको बेला गोली ठोक्ने आदेश हुन्छ, थाहा छ ?”

“अहँ !”

दायाँवायाँ मुन्टो हल्लायौं ।

(राजाको सवारी सुनेका थियौं–– देखेका थिएनौं । त्यही दिन नीलो गाडीबाट मज्जाले देख्यौं–– कालै न कालो, पसिनै पसिना, खडेरीले चर्किएका खेतझैं सुख्खा ओठ ! सवारी यति डरलाग्दो हुँदो रहेछ र त बाटाघाटा सुनसान हुँदारहेछन्, समय जहाँको तहीँ टक्क अडिँदो रहेछ !)

राजाको सवारीमा परेवा पनि उड्न पाउँदैनन्–– बुझेको यही थियो ! हामी त्यस्तै उड्न खोज्ने परेवा थियौं– पिँजडाभित्र ।

एकतारे बोलिरहृयो, “आज तिमेरुको बाउको बिहे देखाउँछौं, कालीमाटी त पुग्न देओ ।”

(कालीमाटीमा प्रहरी चौकी छ–– एकतारे, दुईतारे र खुकुरीधारीहरूको प्याउटे कालीमाटी)

उनीहरुले जे सोध्छन्, त्यही उत्तर दिनुपर्छ । अर्थोक बोल्ने अधिकार संकटकालले निलम्बन गरिदिएको थियो ।

भिनाजुले घोप्टे मुन्टो लगाएर भुइँ हेरिरहे । शायद पहिलो पटक थियो त्यो–– दाङबाट काठमान्डू आएदेखि हामी बिनापैसा सहर घुमिरहेका थियौं । त्यही पनि पुलिसको गाडीमा । यताउति हेरें । गाडी थापाथलीमै घुमिरहेको थियो ।

चिया खाइरहेको होटलबाट हामीलाई गाडीमा हालेको देख्नेहरुको अनुहारमा कुनै किसिमको ग्लानी थिएन । ङिच्च हाँसिरहन्थे उनीहरु । शायद उनीहरू सवारीको यस्तै मूर्दाशान्तिमै हुर्किएका थिए ।

हामी त दाङ र अर्घाखाँचीका थियौं–– जहाँ त्यतिखेर अर्कैखाले कम्ब्याटधारीले आफ्नै शासन चलाइरहेका थिए । सवारी त त्यहाँ पनि हुन्थ्यो–– अर्कै राजाको । त्यस्ता राजा, जसलाई मैले कहिल्यै नांगा आँखाले देखिनँ । एउटा अमूर्त चित्रमात्रै थियो मनमा । सोचें– किन हरेक राजाहरू यस्तै अमूर्त हुन्छन् ?

एक घण्टाको ‘पेट्रोलिङ’पछि कालीमाटी लगेर आलुको बोराझैं हुत्याए । खुकुरी क्रसवालाले सोधपुछ सुरु गर्यो ।

“नाम के हो ?”

“लेनिन बञ्जाडे ।”

नाम सुनेर टाउकोबाट पैतलासम्म पढ्यो उसले ।

“घर कहाँ हो ?”

“दाङ ।”

उनै प्रश्न यहाँ पनि ओइरिए ।

“लक्ष्मण केसी ।”

“अर्घाखाँची ।”

“घुम्न ।”

खुकुरी क्रसवाला अलि नम्र भयो, “सवारीमा किन हिँडेको ?”

“हामी हिँडेका थिएनौं, होटलमा चिया खाइरहेका थियौं । हिड्नेहरु त अरु हुन् । उनीहरू बाहिर निस्किए, पुलिस देखेर फेरि भित्र पसे । उहाँहरू आएर सिधै हामीलाई उठाउनुभयो,” क्रसवाला नम्र भएको फाइदा उठाएर मैले एकतारेतिर औंला तेर्स्याएँ ।

“हाम्रो जागिर जान्छ यस्तो बेलामा, थाहा छैन ?” क्रसवालाले टेबलको चिया सुरुप्प पार्यो ।

सोचें–– रोल्पा, रुकुमतिर पनि यस्तै त छ । किलोशेरा टु, रोमियो जस्ता डरलाग्दा सवारी चलिरहेकै त छन् ।

“परिचयपत्र छ ?” क्रसवालाले सोध्यो ।

“नेपाल पत्रकार महासंघ, जिल्ला शाखा दाङ ।”

नपत्याएरै हेर्यो मतिर । उसका आँखामा अविश्वास भरियो ।

“अबदेखि सवारीमा ख्याल गर्नुहोला…”

तपाईंमा उक्लियो क्रसवाला । भनें, “अब त जीवनभर ख्याल गर्छु सवारीको !”

भनेको सुन्यो, सुनेन–– हामी निस्क्यौं बाहिर । भिनाजु हीनताबोधले भुतुक्क थिए–– मजस्तै !

 

० ० ०

 

१५ वर्षपछि बानेश्वर चोक ! थापाथलीभन्दा डेढ किलोमिटर जति टाढा ।

एक हुल पुलिस साइरन बजाउँदै तुफानझैं आए । सामान किन्न पसल छिरेकाहरू पसलभित्रै खाँदिए । हिँडिरहेकाहरू छिनभरमै कहाँ पुगे, पत्तै भएन । सिंगो बानेश्वर मूर्दाझैं निदायो । सडकछेउमा हिँड्ने र उभिनेहरूलाई प्रहरीले चर्किंदै पन्छाइरहेका थिए ।

सँगै उभिएको छोरोको लागि यो कुनै फिल्मको दृश्यभन्दा विस्मयकारी थिएन । सोध्यो, “बाबा, पुलिसले किन डाटिरखेको ?”

“सवारी हो बाबु,” मैले सरासर भनें, “राष्ट्रपतिको ।”

सवारी र राष्ट्रपति भनेको शायद बुझेन उसले । फेरि सोध्यो, “के हो रास्टपति भनेको बाबा ?”

म अकमक्क भएँ ! उसलाई बुझाउने भरपर्दा शब्द थिएनन् मसँग ! र पनि भनें, “देशको सप्पैभन्दा ठूलो मान्छे हो ।”

“कत्रो ठूलो बाबा ?” ऊसले फेरि वालसुलभ प्रश्न तेर्स्यायो । र, आफैं थप्यो, “किङ जत्रै ?”

“हो हो, किङ जत्रै,” मैले अर्थ्याएँ, “किङ जस्तै ।”

उसले बुझेर मन्टो हल्लाइरहँदा कालो टल्किने चिल्लो गाडी साइरनहरूको बीचबाट संविधानसभा हल छिर्यो । हामीले हेरिरह्यौं । क्रसवाला र एकतारेहरू सडकभरि फिँजिए ! र, साइरन बजाउँदै उस्तै नीलो भ्यानले चक्कर लगाइरह्यो !

 

(नोट : पुलिसले समात्दैमा मान्छे अपराधी हुँदैन ।)

 

(*२०५८ मंसिर ८ मा माओवादीले दाङको घोराहीस्थित सैनिक ब्यारेकमा आक्रमण गरेर युद्धविराम भंग गरेपछि तेस्रो दिनमा सरकारले संकटकाल घोषणा गरेको थियो ।)

Advertisements

4 thoughts on “नीलो भ्यान र एकतारेहरू

  1. धेरै दिनसम्म दाइकाे ब्लग चाहार्दै, रिफ्रेश पार्दा याे मज्जाकाे अनुभव पढ्न पाइयाे । याे भन्दा अघिका सबै लेखहरुले निकै मन छाेएका थिए, तर यस लेखमा भने दाइले कसैलाइ स्पष्टिकरण दिने मनशायले लेखेकाे जस्ताे लायाे । तर जे भए @lendaaiकाे लेखाइकाे स्वाद धेरैपछि लिन पाइयाे, खुशी लागीराकाे छ ।

    नियमित पाठकलाइ मध्यनजर गर्दै बेलाबेलामा लेख्दै गर्नुहाेला दाइ।

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s