नीलो भ्यान र एकतारेहरू

“यिनै हुन्, हाल् यिन्लाई…”

अचानक कम्ब्याट ड्रेसवालाले हामीतिर औंला सोझ्यायो । गुरुपगुरुप् ४-५ जना सरासर आए । अलिक मात्तिएजस्तो, अलिक आत्तिएजस्तो कम्ब्याटवालाले मलाई फर्सीझैं उठायो- जुरुक्क । भिनाजु अलिक गह्रौं थिए- लतारे उनलाई ।

“के भो, के भो ?”

होटलवाला साहुजी अक्क न बक्क दौडिएर हामीनजिक आए । के भइरहेको थियो, केही मेसो पाएनन् । त्यतिबेलासम्म यामानका भिनाजु र तीन-चार धार्नीको म नीलो भ्यान चढिसकेका थियौं ।

सानामा सुन्थें र डराउँथे, “पुलिसले लैजाला, चूप लाग् … !”

म त्यस्तै डरलाग्दा पुलिसको अघिल्तिर सास अड्किएर उभिएको थिएँ ।

“घर काँ हो तेरो ?” काँधमा पहेंलो तारा भिरेको पुलिसले लौरो तेर्स्यायो ।

Continue reading

सेक्सन ‘सी’

प्रशासन शाखाका सरले बिहानको पारिलो घाममै मेरो शिरमा चट्याङ हाने– जब उनले नाम सोझै सेक्सन ‘सी’को रजिस्टरमा लगेर लेखे, “लेनिन बञ्जाडे, रोल नम्बर ४६ ।”

वरपर झुम्मिएका ‘बी’ सेक्सनधारी (साथी)हरूको अगाडि मरेझैं भएँ ।

सेक्सन ‘सी’–– यानेकि सीमान्तकृत !

बोर्डिङ छाड्नुअघि र पद्मोदय पब्लिकमा पढ्न जानुअघि मेरो एउटै सर्त थियो, “कि ‘ए’, कि ‘बी’ सेक्सन नभए पढ्दिनँ । बरु खलासी बन्चु ।”

बालाई पनि चसक्क भयो होला, भर्भराउँदो छोरो खलासी बनेको कसरी हेर्नू ? त्यहीमाथि ३ वर्ष बोर्डिङ पढाएको !

आँखा चिम्लिएर बतासझैं बाहिर निस्किएँ र बासामु बम्किएँ– बरु झुन्डिन्चु, ‘सी’ मा त मरे नि पढ्दिनँ !

Continue reading

ऊ फेरि चिच्याई !

ऊ फेरि चिच्याई !

उस्तै नमीठो र कर्कश स्वर !

यो लगातार आठौं दिन थियो । अघिल्लो शनिबारदेखि आजको शनिबारसम्म हरेक दिन राति ९ बजेतिर ऊ यसैगरी चिच्याइरही ।

दिनभरि लखतरान भई सुतेर थाकेपछि निदाउनै लागेको थिएँ, चिर्रर चिच्याएको सुनेपछि जर्‍याकजुरुक उठें । मलाई असह्य भइसकेको थियो ।

घडीको सुईं ९ बाट नेटो काटेर १० मा उक्लियो । अनि क्रमशः शिथिल हुँदै गयो ।

Continue reading

मसिहा

जमुनिया मर्‍यो !

चैतको हुरीझैं बत्तिएर आएको बीभत्स र डरलाग्दो खबरले मन्ते एक्कासि चिसियो ।

भर्खरै खटियामा सुस्ताउँदै गरेको मन्ते जुरुक्क उठ्यो र भीमसामु ठिंग उभियो ।

यो अनपेक्षित र मुटु चिर्ने खबर थियो ।

“दैवा रे दैवा !” दुवै हात छातीमा बजार्दै मन्ते त्यही खटियामा बुंग ढल्यो ! आँखा चिम्म गरेर झाँतोझैं दाह्रा किट्यो । हात थररर काँपे । करेन्ट लागेर कुप्रिएझैं कक्रक्क पर्‍यो ।

“भौजी…भौजी…” भीम चिच्यायो ।

भित्रबाट जमुनियाकी आमा फेकनदेवी दौडिँदै आई । खटियामा ढलेको मन्ते र उसलाई समातेको भीम देखेर ऊ टक्क अडिई–– मूर्तिझैं ।
“हाय रे दैवा ! कथि भैगैल ?”

Continue reading

अफेयरगन्ज

बिहान नउठ्दै प्रमिलाले फोन गरी ।

भनेको थिएँ– घरमा हुँदा कहिल्यै मोबाइलमा घण्टी नबजाउनू । मोबाइल मेरै सिरानीमुनि थियो, भाइब्रेसनमा । घण्टी बजेको सुनेर बूढीले उठाएको भए सिधै उचालेर पछार्थी ।

मोबाइलमा भाइब्रेसन र साइलेन्ट मोड यस्तै आपत्–विपतका आविष्कार थिए होलान् । साइलेन्ट मोड नहुँदो हो त कतिको उठिबास लागिसक्थ्यो होला !

जुरुक्क उठेर बाहिर निस्किदै थिएँ, बूढीले सोधी, “कहाँ जान लाग्नुभो ?”

भनें, “चियाको साह्रै तलतल भो, दूध ल्याउन जान्ला ।”

ऊ मुसुक्क हाँसेर भान्सातिर छिरी, म हतारहतार गेटबाहिर निस्किएर कलब्याक गरें ।

Continue reading

#iHateMoMo

ट्रक घ्याँच्च रोकियो । म सँगसँगै पछिल्तिर लहरै उभिएका सबै एकैपटक हुत्तिए । एउटो प्याच्च बोल्यो, ‘त्यस्का बाउ, बिस्तारै रोके हुन्न ?’

उसको बोलीमा मिसिएर अर्को सन्कियो, “त्यो घन्टाउके । आज मोर्च त्यो । झर्न दे न ।”

मैले केही प्रतिक्रिया जनाइनँ । दुलोबाट पुलुक्क बाहिर हेरें, साइनबोर्डमा ‘मुग्लिन’ लेखिएको रहेछ । होटलछेवैमा रोकेकोले होला, मगमग बासना आइरहेको थियो ।

केही नखाएको ६ घण्टाभन्दा बढी भइसकेको थियो । बाटोका खाल्डामा बुरूक् बुरूक् उफ्रिएर पनि होला, मसँगसँगै ट्रकभरिका करिब २५ थान यात्रुको शरीर फतक्क गलेको थियो ।

मेरो दाहिने पाखुरामै टाँसिएर बसेकी चनमतीको कानमा सुटुक्क भनें, “ओई, हेर त त्याँ ।”

उसले ढालाको चरबाट एउटा आँखाले हेरी । बडेमानको भाँडो र त्यसबाट निस्किएको बाफ देखेर लख काटी— म:म: पाक्दैछ ।

कुमले घच्याउँदै सोधें, “खाने हो ?”

ऊ बोल्न सकिन । ज्यान फर्फराई । तनक्क तन्की । नाकमा सम्पूर्ण शक्तिले मुजा पारी र भनी, “नाइ यार, आई हेट म:म: !”

Continue reading

सेतोपाटी

सिमसिम बर्खे झरीसँगै बिजुली चमक्क चम्कियो। तेस्रो बेन्चको छेवैमा बसेकी प्राप्तिले दुवै हातका कान छोपी र आँखा चिम्म गरी। लहरै बसेका अरू केटाकेटी कोही चिर्रर चिच्याए, कोही आँखा चिम्म गरेर घोप्टो परे। आकाश जोडले करायो र निमेषमै शान्त भयो। सेतोपाटीको मुन्तिर कुर्सीमा बसेकी मिस मुसुक्क हाँसिन्। र, बोर्डमा लेखिन्, ‘चट्याङ भनेको के हो?’

इसारामै उनले पुछारतिर बसेर ट्वाल्ल परेको फुच्चेलाई उठाइन् र हातको रूलरले बोर्डमा देखाएर सोधिन्, ‘थाहा छ के हो?’ अक्क न बक्क पर्दै ऊ घोर्रियो। आँखा फट्टाएर हेर्‍यो र भन्यो, ‘था छैन मिछ।’

Continue reading